काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ ।
शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेस नेता रमेश लेखकका अनुसार राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव लड्ने समझदारी भएको छ ।
उनका अनुसार ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको छ ।
‘अहिले त्यो विषय एमालेसँग सहकार्यको छैन, गठबन्धनकैबीचमा सिटको बाँडफाँट हुन्छ’, उनले भने, ‘गठबन्धन र सरकारमा सहभागी दलले नै चुनाव लड्छ ।’
सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि शनिबार नै ४ बजे छलफल हुने भएको छ ।
दिउँसो ४ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच छलफल हुने र त्यसपछि ५ बजे सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका अरु दलहरुको पनि छलफल हुने नेताहरुले बताएका छन् ।































