सर्केगाडको उपाध्यक्षमा देवकीलाई उम्मेदवार बनाउने माओवादीको निर्णय

सर्केगाड । नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा देवकी तिमल्सिना रोकायालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

माओवादी सर्केगाड गाउँपालिका समितिका अध्यक्ष छबी थापाले रोकायालाई उम्मेदवार बनाउने निर्णय गरेको कर्णाली बुलेटिनलाई जानकारी दिए ।

उनी माओवादीभित्र बौद्धिक छवी भएका नेता डा. दिपेन्द्र रोकायाकी श्रीमती हुन ।

नेपाली कांग्रेसका तर्फबाट सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढा उम्मेदवार बनाइएको छ ।

एमाले यतिबेला सर्केगाड गाउँपालिकाका आठवटै वडामा विभिन्न नेताको नेतृत्वमा टोली परिचालन गरी घरदैलोमा व्यस्त छ।

यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा सर्केगाडको अध्यक्षमा कांग्रेसका ठानबहादुर रोकाया र उपाध्यक्षमा माओवादीका चन्द्रसिंह कार्की निर्वाचित हुनुभएको थियो।

सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा उपाध्यक्ष कार्कीको दुर्घटनामा परी निधन भएपछि रिक्त उक्त पदका लागि सर्केगाडमा उपनिर्वाचन हुन लागेको छ ।