अविरल वर्षाले तीन सातादेखि खच्चा सडक अवरुद्ध

सिमकोट । अविरल वर्षाका कारण तीन सातादेखि हुम्लाको सर्केगाड गाउँपालिका १ अन्तर्गतको खच्चा सडक अवरुद्ध छ । सधैजसो अवरुद्ध हुने सडक यसपटक पनि अवरुद्ध भएको हो ।

लामो समयदेखि नेपाल प्रहरी र स्थानीयले सो सडक खुलाउने प्रयास जारी राखेका छन् । अविरल वर्षाका कारण सो सडकमा पहिरो गएको थियो ।

अस्थायी प्रहरी चौकी तुम्चमा कार्यरत प्रहरी टोली र स्थानीय मिलेर सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताए ।

प्रहरीका अनुसार सो सडक खण्ड हरेक वर्ष अवरुद्ध हुँदै आएको छ । वर्षाको समय बाहेक पनि सुख्खा पहिरोले सडक अवरुद्ध हुने गरेको छ ।

पछिल्लो समय ३ हप्तादेखि खच्चा सडक खण्ड अवरुद्ध छ । सवारी साधन आउजाउमा समेत समस्या हुने गरेको छ । हरेक वर्ष अवरुद्ध हुँदै आएको सडकमा मर्मतमा बेवास्ता हुँदा हुम्ला, मुगु र बाजुरा गरी तीन जिल्लाका यात्रु मर्कामा परेका छन् ।