हलमा दयाहाङका ‘दयारानी’ भर्सेस ‘हात्तीछाप’

काठमाडौं । शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएका हुन् ।

गत बैशाख १ गते उनी अभिनित ‘जारी’ र ‘बिहेपास’ एकसाथ रिलिज भएका थिए । २०८० सालमा राईका फिल्म जुधेको यो दोस्रो पटक हो । आगामी दिनमा उनका अन्य फिल्महरु पनि जुध्ने सम्भावना बलियो छ ।

‘दयारानी’लाई माओत्से गुरुङले निर्देशन गरेका छन् । गुरुङ फिल्मका यी हस्तीको नेपाली भाषामा डेब्यु निर्देशकीय फिल्म हो ।

निसन्तान दम्पतीको कथावस्तुलाई भावना र कटाक्ष मिश्रण गरेर माओत्सेले यो फिल्मको कथ्य बुनेका छन् । यो फिल्ममार्फत निर्देशकले पितृसत्तात्मक सोचमाथि प्रहार गरेका छन् ।

पोखराको मादी, याङ्जाकोट क्षेत्रमा छायांकन गरिएको यो फिल्म ग्रामिण कथावस्तुमा आधारित छ । दयाहाङ राई, दीया पुन, विजय बराल, पुष्कर गुरुङ लगायतको अभिनय रहेको यो फिल्म कमेडी र
सोसल ड्रामा जनरामा बनेको छ ।

‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । कमेडी र सोसल ड्रामा जनरामा बनेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, बेनिशा हमाल लगायतको अभिनय छ ।

यो फिल्म पनि ग्रामिण कथावस्तुमा बनेको फिल्म हो । गाउँले कथावस्तुमा बनेका यी दुई फिल्म दर्शकलाई रुचिकर हुनसक्छ । अभिनेता राईले सामाजिक संजालमा यी दुबै फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएका छन् ।
निर्देशक गुरुङले पनि हार्दिकता प्रस्तुत गर्दै दुबै फिल्मको पोस्टर सार्वजनिक गरेका छन् ।