काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन २४ क्यारेटको रहेको खुलेको छ । बिहीबार राति ११ : ५६ बजे विमानस्थलबाट बरामद भएको १४ किलो सुन २४ क्यारेटकै भएको खुलेको हो ।
विमानस्थल भन्सार कार्यालयका अनुसार उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको हो ।
बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट उक्त सुन बरामद गरिएको थियो । घलेले प्लेट बनाएर शरीरमा लुकाएर सुन ल्याएका थिए ।
चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको अनुसन्धानका क्रममा खुलेको थियो । त्यसपछि उनलाई पनि पक्राउ गरि अनुसन्धान थालिएको छ ।




























