काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयको भवन नभत्काउन ाआदेश दिएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयको भवन नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा आदेश जारी गरेको हो ।
न्यायाधीशहरु हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको इजलासले भवन नभत्काउन आदेश दिएको हो । अदालतले नक्सापास गरिदिन महानगरका नाममा आदेश दिएको छ ।
नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले गत साउन १२ गते भवन भत्काउन माइकिङ गरेको थियो । त्यसको तीन दिनपछि महानगरपालिकाको टोली डोजर लिएर पुगेको थियो ।
त्यतिबेला राप्रपाको कार्यकर्ता पनि प्रतिकार गर्ने उद्देश्यसहित भेला भएका थिए । जिल्ला प्रशासन कार्यालयको समन्वयमा त्यस दिन काठमाडौं महानगरपालिकाको टोली डोजर नलगाई फिर्ता भएको थियो ।
त्यसपछि राप्रपालाई जग्गादान गर्ने जग्गादाता कल्याणी राजभण्डारी र प्रभा चापागाईंले आफ्नो जग्गामा बनेको भवन नभत्काउन माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
































