दैलेख । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाका अनुसार पुलको एकातर्फको लट्ठा चुँडिदा बिहानैदेखि खच्चड तारमा फसेका हुन् ।
कोइरालाले पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको बताए।
झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ ।
‘सबै सुरक्षा निकाय, उद्धार टोलीदेखि लिएर छिमेकी जिल्लामा पनि सबैलाई जानकारी दिइसकेका छौं,’ कोइरालाले भने, ‘टोली त्यहाँ पुग्दै होला । बाँकी बुझ्दैछौं ।’
































