फिल्म ‘नमेटिने घाउ’ मा अभिनय गर्दै सांसद ज्ञानेन्द्र शाही

काठमाडौं । सांसद ज्ञानेन्द्र शाही फिल्म अभिनयमा देखिने भएका छन् । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा अभिनय गर्ने भएका हुन् ।

आइतबार घोषणा कार्यक्रममा निर्माण युनिटले फिल्ममा शाहीको पनि अभिनय रहने जानकारी दियो । फिल्ममा शाही के भूमिकामा देखिने हुन् त्यो भने खुलाइएको छैन् ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहनेछ ।

अभिनेता रमित ढुंगानाको निर्देशन रहने ‘नमेटिने घाउ’ ३३ जना एसिड पीडितहरूको कथालाई समेटेर बन्न लागेको हो ।

फिल्ममा शिव अधिकारीको कथा, ओम सुनारको संगीत रहनेछ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना कलाकारमा रहने फिल्ममा अन्य कलाकारको रूपमा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसुहा लगायत रहनेछन् ।