प्रधानमन्त्री प्रचण्डले भने-औषधि उत्पादनमा कर्णालीले पहल लिनुपर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले औषधि उत्पादनमा पहल लिनुपर्ने बताएका छन् ।

औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न प्रतिष्ठानलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आवश्यक माग सरकारले सम्बोधन गर्ने आश्वासन समेत दिएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई सम्बोधन गर्दै उनले कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण रहेको बताए ।

उनले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्ने बताए ।

कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने पनि उनले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशी विद्यार्थीहरु पनि आएको जानकारी पाउँदा खुसी लागेको भन्दै उनले नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्ने धारणा समेत राखेका थिए ।

साधन स्रोतको अभावका बीच रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानका समस्या समाधानका लागि सरकारले पहल गर्ने बताए ।

‘बाटोघाटोको असुविधा, दक्ष चिकित्सकहरू र प्राविधिकहरूको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्याहरू छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ । ‘आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।