सुर्खेत । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र हुम्लाले डा.दीपेन्द्र रोकायालाई एकल सिफारिस गरेको छ । डा. रोकायालाई आइतबार बसेको बैठकले एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
जिल्लाको ऐतिहासिकता, निरन्तरता, संघर्ष, जनआधार, अनुभव र विज्ञताका आधारमा एकमतका साथ डा. रोकाया नै उपयुक्त भएकाले एकल रुपमा सिफारिस गरिएको पत्रमा उल्लेख छ ।
डा. रोकायालाई कर्णाली प्रदेशकै सक्षम नेता जनयुद्धका पारखी, आधार ईलका(हुम्ला) का जनताका आशा भरोसा मानिन्छ । उनलाई कर्णालीबाट सर्वसम्मत रुपमा राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउन माग हुँदै आएको थियो ।
माओवादीभित्र बौद्धिक छवी भएका नेताका रुपमा परिचित डा. रोकायाले जनयुद्धकालमा युद्ध पत्रकारीता गरेका थिए ।
डा. रोकायाले यसअघि कर्णाली प्रदेश योजना आयोगको सदस्य भएर कर्णालीको पञ्चवर्षीय गुरुयोजना तयारमा महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।
संसदमा पुग्दा पनि सक्षमता प्रस्तुत गर्न सक्ने नेता रोकाया भएकाले उनलाई एकल रुपमा सिफारिस गरिएको हो ।हुम्लाबाट अहिलेसम्म अनिवार्य निर्वाचित हुने बाहेको स्थानमा कुनै पनि भूमिका पाएको छैन ।
पछिल्लो समय सक्षम नेता भन्दा पनि नेताहरुको अघिपछि लागेकाहरुले स्थान पाउने तर, सक्षम र संघर्षशिल नेताहरुले स्थान नपाउने प्रवृत्ति माओवादीभित्र व्यापक छ ।
रोकाया ०७९ मा भए प्रतिनिधि सभा नभए प्रदेश सभाको चुनाव लड्न चाहन्थे । तर, पार्टी केन्द्रको भावनालाई सम्मान गर्दै उनी पछाडि सरेका थिए । रोकाया माओवादीको हुम्ला जिल्ला संयोजक समेत हुन् । राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।
































