काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो ।
सञ्चार मन्त्री रेखा शर्माका अनुसार आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन् ।
आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ । त्यस्तै घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने टीओआर तोकिएको छ ।
यही पुस १३ गते ईपीएस कोरिया भाषा परीक्षार्थीहरुको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । सोही दिन गृह मन्त्रालयले डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । आक्रोशित भिडले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएको थियो ।
पानी जहाज निर्माण क्षेत्रतर्फ भाषा परीक्षा दिएर असफल भएकाहरुले उत्पादनमूलक क्षेत्रतर्फ पनि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए ।
प्रहरीले अत्यधिक बल प्रयोग गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।






























