ताँजाकोटका नन्दप्रसादको याचना–श्रीमतीलाई नयाँ जीवन दिनुस्

काठमाडौं । गत साउनमा ताँजाकोट गाउँपालिका ४ का नन्दप्रसाद ढकाल बिरामी ४७ वर्षीया श्रीमती छप्पकला ढकाललाई लिएर घरबाट हिँडे ।
आफन्त छिमेकीको ढाडसमा काठमाडौं पुगेको दम्पतिको करिब डेढ महिना वीर अस्पतालको शैयामा बित्यो ।
डेढ महिनाको बसाइमा उनको करिब १ लाख रुपैयाँ उपचारमा सकियो । । स्वास्थ्य बिमा वापत प्राप्त हुने उपचार सेवा पनि सकियो ।
त्यसपछि उनले डेरा लिएर श्रीमतीलाई राखे । नन्दप्रसादकी श्रीमती विगत लामो समयदेखि जण्डीसले ग्रसित थिइन ।
डेरामा राख्दा उनलाई झनै कष्ट हुन थाल्यो । उपचार नपाएर छटपछिन थालिन । आर्थिक अभावमा नन्दप्रसाद आत्तिए ।
उनले श्रीमतीलाई टिचिङ अस्पताल, गंगालाल अंग प्रत्यारोपण केन्द्र लगायतका अस्पताल पुर्याए ।
त्यहाँ उनकी श्रीमतीको कलेजो प्रत्यारोपण गर्नुपर्ने गम्भिर प्रकृतिको रोग देखियो । अस्पतालले कलोजो प्रत्यारोपण भन्दै नन्दप्रसादले धान्नै नसक्ने रुपैयाँ लाग्ने बतायो । कतै ५० लाख त कतै ३५ लाख ।
नन्दप्रसादलाई यति धेरै रुपैयाँ जुटाउने आँट जुटिरहेको थिएन । केही सामाजिक अभियन्ता, पत्रकारहरुले थाहा पाएर भिडियो रिपोर्ट प्रसारण गरिदिए ।
सामाजिक अभियन्ता तथा सञ्चारकर्मी भोजराज थापा र खबर केन्द्रको टिमले पहलकदमी अघि बढाएर केही रकम जुट्यो ।
हाल उनको उपचार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ ।
डा. सुनिल शर्माको टोलीले अस्पतालमा बेड चार्ज र चेकअप शुल्क निशुल्क गरिदिएको छ ।ढकालका अनुसार १५ लाख जुट्यो भने गंगालाल अस्पतालमा अपरेशन हुन्छ । सामाजिक सञ्जालका भिडियो पोष्ट र अन्य सहयोग गरी ९ लाख रुपैयाँ संकलन भएको छ ।
ताँजाकोट गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको छ । अब ६ लाख रुपैयाँ जम्मा हुन बाँकी छ । २२ वटा चेकअप गर्न बाँकी छ । ढकालले छोराको कलेजो आमामा प्रत्यारोपण गर्नुपर्ने बताए ।


उनी उपचार खर्चको अभावमा अस्पतालमा हार गुहार गरिरहेका छन् । कर्णाली प्रदेशका कैयाँ नेता समाजसेवीहरुलाई गुहार मागे । केही रकम पनि जुट्यो । तर, अपरेशसन चार्ज पनि पुगेको छैन ।
‘साउनदेखि काठमाडौंमै छौँ । अस्पताल चहार्दा चहार्दा थाकिसक्यौँ । विमार नै कडा प्रकृतिको भएकाले उपचार खर्च महंगो लाग्ने भयो । छोराको कलेजो आमामा प्रत्यारोपण गर्नुपर्ने भयो । उपचारपछि उनको आयु करिब २० वर्ष बढि हुने डाक्टरले भन्नुभएको छ । नत्र दुई महिना पनि नबाँच्ने रे,’ उनले भने, ‘भारतबाट डाक्टर बोलाएर अपरेशन गर्नुपर्ने भएकाले डाक्टरकै चार्ज पाँच लाख लाग्ने भनेका छन् । २१ घण्टा लामो अपरेशन हुन्छ भन्ने छ ।’

अपरेशन र औषधी खर्च गरी जम्मा १५ लाख रुपैयाँ लाग्ने ढकालले बताए । त्यस्तै डाक्टर चार्ज पाँच लाख रुपैयाँ र अपरेशन पछि पनि थप पाँच लाख रुपैयाँ चाहिने भन्दै पैसा जुटाउन अस्पतालले भनेको छ ।
‘अहिले खर्च जुट्ने आशमा बसिरहेको छौँ । कहिले खर्च जुट्ला र श्रीमतीलाई नयाँ जीवन दिन पाउँला ?,’ उनले भने ।
उनको गुहारपछि ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशी, प्रदेश सांसद रनसिंह परिवार लगायतका नेताहरु अस्पतालमै पुगे ।
ढकालले संघीय सांसद कार्चेन लामा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवन बहादुर शाहीलाई भेटर याचना गरेका छन् ।
ढकालकी श्रीमती दुई तलामा रहेका मेडिसिन वार्डको बेड नम्बर १३० मा उपचाररत छिन् ।