काठमाडौ । नेपाल प्रिमियर लिग एनपीएलको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।
७ खेलमा ६ जितसँगै सुदूरपश्चिम लिगको अंकतालिकामा शीर्ष स्थान कायम गर्न सफल भयो । कर्णालीले दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । उनले ब्याटिङ २९ बलमा ३८ रन बनाए ।
बलिङतर्फ उनले २ विकेट लिए । ब्याटिङमा उनले इशान पाण्डेसँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए । इसान ३८ रनमा अविजित रहे ।
कर्णालीको बलिङमा कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।
कर्णालीका जिसन मक्सदले सर्वाधिक ३० रन जोडे । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाएका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए । कर्णालीले इनिङ भरी नै एउटा पनि छक्का प्रहार गर्न सकेन । बलिङमा सुदूरपश्चिमका बलर हाबी भए । हर्मित सिंहले ३, स्कट कुइगेलेनले २ र सेफ जफरले एक विकेट लिए ।
हारका बाबजुद कर्णाली प्लेअफमा स्थान बनाएको छ ।

























