काठमाडौं । बाल यौन दुराचार गरेको कसूरमा रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले १० वर्ष सजाय सुनाएको छ ।
आफूलाई तपश्वी दाबी गर्ने बम्जनलाई जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
यसअघि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बम्जनलाई दोषी ठहर गरेको थियो । सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको थियो ।
बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो ।
प्रहरीले बम्जनलाई २०७६ सालदेखि नै खोजी गरिरहे पनि २०८० सालमा मात्रै उनी पक्राउ परेका थिए ।
सर्लाही अदालतले २७ पुस २०८० मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ ।
उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ ।
महिला अधिकारकर्मीको सहयोगमा ३० भदौ २०७६ मा ललितपुरमा पत्रकार सम्मेलन गर्दै एक १८ वर्षीया युवतीले बम्जनले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् । त्यसपछि प्रहरी कहाँ पनि यो विषयमा उजुरी परेको थियो ।
प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको हुनसक्ने आशंकामा छ । तर, प्रहरीले प्रमाण फेला पार्न सकेन ।
करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो ।
जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो । बम्जन जोडिएको अरु मुद्दामा पनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।































