काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले प्रतिवेदन बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार १ अर्ब २ करोड हिनामिना भएको छ ।
उनका अनुसार अनुसन्धान सकाएर १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबी र २८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको छ ।
अब प्रतिवेदन अध्ययन गरेर सरकारी वकील कार्यालयले मुद्दा दर्ता गर्नेछ ।
प्रतिवेदनमा जीबी गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रहरीले उल्लेख गरेको छ ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा सहकारीका कोषाध्यक्ष दिपेश पुन, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापामगर, रोशनी गुरुङ, सागर केसीसहित २८ जनालाई प्रतिवादी बनाइएको छ ।
सहकारीले ठगी गरेको भन्दै १ हजार ८३१ जनाले प्रहरीमा जाहेरी दिएका छन् ।
































