काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खस्दा १२ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नेपालगन्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडाका अन्दाजी ३०÷३५ वर्षीय शौरभ विष्ट, जुम्लाको चन्दनाथ ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजनको रहेका छन् ।
त्यस्तै रुकुम गोतामकोट ९ का २५ वर्षीय दीपक डाँगी, भारतको पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्रराम, भारतकै उत्तर प्रदेशको अतिकुल्ला खैरेका ३१ वर्षीय मुने र काठमाडौं चन्द्रागिरि नगरपालिका १५ का ६५ वर्षीय ताराकान्त पाण्डेको मृत्यु भएको छ ।
अन्य चारजनाको सनाखत हुन सकेको छैन । घाइते २२ मध्ये सातजनालाई बुटवल, नौजनालाई नेपालगञ्ज र ६ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ ।
त्यस्तै मृतकको शव लमहीस्थित लमही अस्पतालमा राखिएको छ । बसमा ३५ जना यात्रु सवार थिए ।































