माओवादी विशेष रुपान्तरण अभियान र अनुभव

नेकपा (माओवादी केन्द्र) ले भदौ १६ गते जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुरुवात गर्यो ।
शुरुमा तीन महिना भनिए पनि पछि चाँडबाडका कारण पुरै नखट्ने देखिएपछि एक महिना थपेर अभियानलाई चार महिना पुर्यायो ।

यस अभियानको तयारीमा अध्यक्ष प्रचण्ड सुर्खेत पुग्नु भएको थियो। मैले पार्टी अध्यक्षको हातबाट कर्नालीको मर्म लाई विमोचन गराउन पाएको थिएँ ।

त्यसबेला उहाँले पार्टीबारे भन्नु भएको थियो, पार्टी विसर्जन र पुनर्निमाणको दोसाँधमा रहेको छ । पार्टी निर्माण गर्ने संकल्प लिएर तीन महिने अभियान सञ्चालन गरिएको छ । यो अभियानबाटै पार्टी निर्माण गर्ने र समाजवादी क्रान्तिको तयारी गर्नुछ ।

अध्यक्ष प्रचण्डको यो मार्मिक भनाईलाई सिद्ध गर्न हामी हुम्लाका माओवादी नेता कार्यकर्ता कार्य क्षेत्रमा लाग्यौँ ।
भदौ ११ गते अभियानको प्रदेश इञ्चार्ज मात्रिकाप्रसाद यादवको उपस्थितिमा जिल्ला बैठक सिमकोटमा बस्यौ ।

१२ गते बैठक सकेपछि पत्रकार सम्मेलन गरी जिल्ला अभियानको बारेमा जानकारी गरायौँ। त्यसपछि पालिकास्तरीय बैठकहरु राख्यौ ।
भदौ १६ गते कतै पालिकास्तरमा त, कतै वडास्तरमा जम्मा भएर पार्टी अध्यक्षको मन्तव्य प्रत्यक्ष सुन्यौ, सुनायौँ । अभियानले मलाई सर्केगाड गाउँपालिकाको इञ्चार्ज बनाएको थियो ।

यसैले भदौ २२ गते पालिकास्तरीय खुल्ला प्रशिक्षणको आयोजना गरियो । करिब एघार सय नेता कार्यकर्ताको बीचमा पार्टी केन्द्र, प्रदेश र जिल्लाको योजना सम्प्रेषण गर्नुका साथै पालिकास्तरीय योजना बनाइयो ।

जे योजना बनायौ, त्यसलाई दृढताका साथ कार्यान्वयन गर्ने संकल्प लिएर सबै वडामा गयौँ । प्रदेश समिति सदस्य गोविन्द शाही गोठी, गोपाल बुढा रादेउ, धर्मराज बोहरा रोडिकोट र चन्द्रसिंह कार्की साँया वडामा हुनुहुन्थ्यो । प्रदेश सल्लाहकार देविलाल चौलागाई उनापानीमा हुनुहुन्थ्यो ।

जिल्ला सचिवालय सदस्य धनलाल जैसी जैरमा हुनुहुन्थ्यो । प्रदेश सदस्य अजवीर बुढा र प्रमेबहादुर शाही विरामी भएका कारण रिप वडामा सिंह धामी र बराई वडामा गाउँपालिका अध्यक्ष छवि थापालाई जिम्मेवारी दिइयो । जिल्ला सदस्यहरुलाई अर्को अन्तर वडामा पठाइयो ।

म सबै वडा र गाउँमा गएँ । अभियान उद्घाटनमा रादेउमा थिएँ । रादेउ फुचाका कमरेडहरुसँग घनिभूत रुपमा छलफल भएको थियो ।

त्यसपछि पालिका अध्यक्ष छवि थापा लगायत कार्यालय टिम बनाएर गोठी, नायकवाडा, रोडिकोट, बराइ, छ्यागी, साँया, दुल्ली, मुन्डी, रिप, उनापानी र जैर गाउँमा पुगी आठौ महाधिवेशनले अगाडि सारेको विचार सम्प्रेषण गरियो। जनस्तरका समस्या र सुझाव संकलन गरियो । देखिदा अन्तरविरोध हल गर्दै अघि बढ्यौँ ।

सर्केगाड गाउँपालिकामा झैँ ताँजाकोटमा लालकेश जैसी, अदानचुलीमा गंगा खड्का, चंखेलीमा सर्पराज सिंह, खार्पुनाथमा वीरजङ शाही, सिमकोटमा विजय भण्डारी र नाम्खामा सिता शाही इञ्चार्ज भएर गाउँ गाउँमा पुग्नुभयो ।
हुम्ला जिल्ला अभियान इञ्चार्ज सुर्खेतका झकबहादुर मल्ल हुनुहुन्थ्यो ।

उहाँ जनयुद्ध कालमा सुर्खेत जेल ब्रेकका कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ ।  उहाँ जिल्लाभरका मुख्य कार्यक्रमहरुमा सहभागी हुनुभयो । सबै प्रदेश समिति सदस्यहरु वडा इञ्चार्ज हुनु हुन्थ्यो । जिल्ला समन्वय समिति सदस्यहरु अन्तर वडामा पठाइएको थियो ।

अभियानले नयाँ तरंग ल्याल्यो । हामीले अभियानको मध्यकालीन समीक्षा चंखेली गाउँपालिकाको मिमीमा गर्यौँ । बैठकमा प्रदेश इञ्चार्ज मात्रिका प्रसाद यादव, कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही र प्रदेश अध्यक्ष विमला केसी उपस्थित हुनुभयो । बैठकले अभियान उत्साहका साथ अगाडि बढेको संश्लेषण गर्यो । उहाँहरुको उपस्थितिमा जनसभा भयो ।

यस बैठक र जनसभाले चंखेलीमा स्थानीय निर्वाचनदेखिको अन्तरविरोध हल गर्न सहज भयो । यसबाट जिल्लामा नयाँ सन्देश प्रवाह भयो ।

महिला संगठन र दलित मोर्चाको जिल्ला भेला सर्केगाडमा सम्पन्न गर्यौ । म जिल्ला संयोजक पनि भएकाले जिल्ला इञ्चार्जससँगै खार्पुनाथ, सिमकोट हुँदै नाम्खा पनि गएँ । नाम्खामा शुरुमा लिमी उपत्यकाको जाङ र हल्जी गाउँमा गयौँ । यसअघि त्यहाँ कोही कसैले पनि संगठन गर्न गएको अवस्था थिएन ।

स्थानीयवासीसँग छलफल गर्यौ । स्थानीय समस्या र सुझाव संकलन गर्यौ । उहाँहरुलाई हाम्रो पार्टीको विचार बुझाउने प्रयत्न गर्यौ । यसै अवसरमा लोलुङजोङबाट कैलाश मानसरोवरको अवलोकन गर्यौ । तिल र चाला गाउँमा कोही भेटिदैनन् भनेकाले उनीहरु र भोटतिर लागेका सम्पूर्ण हुम्लीहरुलाई भेट्न चीनको स्वशासित क्षेत्र तिव्वतको ताक्लाकोट बजारसम्म पुग्यौँ ।

यसका साथै दशै तिहारमा आफन्तहरुसँग बितायौ । सुर्खेत, नेपालगञ्ज र काठमाडौमा रहेका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्यौ ।

त्यसपछि हामीले ताँजाकोट, अदानचुली, चंखेली र सर्केगाडमा विधागत प्रशिक्षण दियौँ । वर्तमान परिस्थिति र पार्टीको भूमिका, सामाजिक न्याय र प्रयोग, पार्टी विधान र अनुशासन, स्थानीय सरकार र जनतन्त्र, पार्टी
संगठन, कार्यदिशा र रुपान्तरणका सूचकहरु विषयक विषयगत प्रशिक्षणबाट करिव पन्ध्र सय अगुवा कार्यकर्ताहरु प्रशिक्षित भए ।

मंसिर २० गते सर्केगाडमा जिल्ला अभियानको समीक्षा बैठक बस्यौँ । हुम्लामा कुल जनसंख्या ५५ हजार ४९६ छ । कुल मतदाता ३२ हजार ९८३ जना छन् । यस अभियानका क्रममा हामीले करिव ३६ हजार जनसमुदाय र २३ हजार मतदातासँग भेटघाट गर्यौ ।

गाउँमा जाँदा पार्टी कार्यकर्ता र जनसमुदायसँग भेटघाट हुन्छ । शुभचिन्तकहरुका सबैखाले कुरा सुन्न पाइन्छ । खुशी लाग्छ । कहिले काँही कल्पना समेत नगरेको विषय सुन्दा दुःख लाग्छ । हाँसो पनि उठ्छ । जेहोस् जनसम्बन्धलाई नविकरण गर्न र जनतासँग मन माझ्न पाइन्छ ।

हामीहरु गाउँतिर घुमिरहेको देख्दा हाम्रा समर्थकहरु खुशी हुनु स्वभाविकै हो, यसमा सामाजिक न्याय दिने विषयमा पैरवी गरेको र साझा समस्यालाई समाधान गर्न पहल गरेको देखेर काँग्रेस, एमालेका नेता कार्यकर्ताले समेत अभिभावक भेटाएको अनुभूति गरेको पाइयो ।

यो अभियानको क्रममा हामीले पार्टीमा तीन हजार ६३८ वटा सुझाव प्राप्त गरेका छौँ । यसमा थोरै नीतिगत छन् । धैरे त विकास योजनाका माग छन् । केही अन्तरविरोध पनि छन् ।

यिनको हल नीति, विधि र व्यवहारमा दिनुपर्ने देखिएको छ । केन्द्र सरकार, प्रदेश सरकार र हुम्लाको स्थानीय सिमकोट, ताँजाकोट र नाम्खा गाउँपालिकाको सरकार हाम्रै पार्टीको नेतृत्वमा छ ।

जनतालाई नीति र व्यवहार बुझाएर आफ्नै सरकार भएको अनुभूति दिनु पर्ने देखिएको छ । जनसमुदायको बीचमा जाँदा यो वा त्यो माग सुन्न पर्ने हुन्छ । पार्टीले सिफारिस गर्ने हो ।

गरिरहेकै छ । राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्न मैले यसो गरेँ र उसो गरेँ भन्ने गरिन्छ ।  आफुले गरेको कुरा अरुले बोल्दैनन् आफै मुख खोल्नु पर्छ । म जहाँ पुग्छु, यसअघि अगाडि बढाइएका कामहरुको बारेमा सरोकारवालासँग छलफल चलाउने गर्छु । यो सामाजिक अनुगमन तथा मुल्याङ्कन पनि भएकाले केही विषयमा स्पष्टीकरण लिने, केही विषयमा जानकारी दिने  त केही विषयमा पहलकदमी लिने प्रतिबद्धता जनाउँदै आएको छु । यही सेरोफेरोमा मेरा दुई वटा मोटा डायरी भरिएका छन् ।

संसदीय व्यवस्था र पुँजीवादी शैलीको गाउँले संस्करणबाट जनता फेरी भ्रममा पर्न थालेका छन् । यसखाले अन्तरविरोधलाई हल गर्न संघ र प्रदेशका जनप्रतिनिधिलाई लिएर केही गाउँहरुमा अन्तरक्रिया गरियो ।

समग्रमा नीति बनाउने बेला जे सोचिएको हुन्छ, त्यो मर्म कार्यान्वयन तहले बुझेको पाइदैन । कार्यान्वयन हुने क्रममा उपभोक्ता समितिले पनि सही रुपमा उपयोगमा ल्याएको देखिन्न । यसैले नीति, विधि, कार्यान्वयन र उपभोगको समग्र पक्षलाई नजिकबाट जाँचपताल गर्न पाइएको छ ।

यसक्रममा संघ र विशेष गरी प्रदेशमा योजना किन्नु पर्छ भनेर उपभोक्ता ठग्नेहरुको नालीबेली पनि प्रकाशमा आउन थालेको पाइयो ।

राजनीति गर्नु भनेको समाज सेवामा लाग्नु हो । समाजको सेवा मानव केन्द्रित विकासमा पहलकदमी लिएर हुन्छ । हुम्ला जिल्ला सदरमुकाममा अझै राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन ।

यसअघिका विभेदकारी राज्यसत्ताका कारण यस्तो भएपनि आयु बढाउने, राम्रो शिक्षा उपलब्ध गराउने र गुणस्तरीय जीवनका लागि गरिने आम्दानीको विषयमा हामीले नसोचे कस्ले सोच्ने ? हाम्रो कारणले हुम्ला पछि पर्न दिनु हुँदैन ।

सबैखाले प्राकृतिक स्रोत र सम्पदाको पहिचान र परिचालन गरौ । लगानीकर्ताहरुलाई हुम्लामा आमन्त्रण गर्ने वातावरण बनाऔँ । यी सबैखाले अनुभवका आधारमा हामीले हुम्लाको क्रान्तिकारी इतिहासको रक्षा र हुम्लाको मानव विकासका लागि १९ बुँदे सर्केगाड घोषणा पत्र जारी गर्यौ । यही अवधिमा नेपाल सरकार र चीन सरकारबीच ;सिमकोट–हिल्सा सडक स्तरोन्नति गर्ने सम्झौता भयो ।

आम नागरिकलाई खुशीको रैवार सुनाउँदै हामीले नेपाल सरकारलाई धन्यवाद दियौँ । यो ऐतिहासिक सम्झौता यथाशिघ्र कार्यान्वयन हुनुपर्दछ । कर्नाली करिडोरको खुलालुदेखि पिलुसम्म चालु बजेटबाट र पिलुदेखि सिमकोटसम्म आगामी वर्षको बजेटबाट स्तरोन्नति गर्नुपर्छ ।

पाँच सय बीस वर्षयता पश्चिम नेपालमा ठुलो भूकम्प नगएको र जाजरकोट रामीडाँडाको भूकम्पले दिएको संकेत अनुसार सुरक्षित बस्ती विकासका लागि नेपाल सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराउनै पर्छ ।

जसअनुसार नेपाल सरकारले अध्ययन भइ सकेका सर्केगाडको न्यारी, सिमकोटको ठेहे र स्याँडा, नाम्खाको याल्बाङ, खार्पुनाथको छिप्रा र चंखेलीको पिप्लाङमा सुरक्षित बस्ती विकास आयोजना अगाडि बढाउनु पर्छ ।

यसैगरी नाम्खाको चाला, न्याम, हल्जी, गारपारी र हेप्का, सिमकोटको स्याप्न्या, सिमकोट तल्लो गाउँ, टुलिङ, खार्पुनाथको खर्प्याल गाउँ र थाली, सर्केगाडको रादेउ, फुचा, रोडिकोट, कार्कीबाडा, बराइ, तल्लो छ्यागी, घिउसी, रिप, उनापानी, साँया, तल्लो मुन्डी, न्हात्ता, जैर तल्लो गाउँ, चंखेलीको राँती, अदानचुलीको पाल्स, कर्गैइ, तुम्च कुलालवारा र लमही तथा ताँजाकोटको जिमाना काँडा र मैला गाउँ अति जोखिममा छन्, ती गाउँहरुको अध्ययन गरी सुरक्षित बनाउनु पर्ने देखिएको छ ।

हाम्रो गाउँघरमा अझै सुधार गर्नपर्ने धेरै कुरा बाँकी छन् । घरमा पुग्दा वा थारा (छत) मा उक्लँदा लिस्नो चढ्नु पर्छ । लिस्नो सिधा ठाडो राखिने र सानो खोपिल्टा हुने भएकाले लड्ने खतरा जहिल्यै रहेको हुन्छ । घरको बनौट, बस्ने र सुत्ने ठाउँको राम्रो व्यवस्था गर्नपर्ने हुन्छ ।

झ्याल, ढोकाको वास्तु मिलाउनु पर्छ । अचेल चुल्होमा केही सुधार आएको देखिन्छ । यस्तै चर्पीमा सुधार ल्याउन आवश्यक छ । जति जडान क्षेत्रमा सुधारिएको छ, त्यति खसानतिर छैन् । यसअघि टालै टालाको पहिरन लगाउनेहरुले भोट र मालको हाट नजिक हुँदै जाँदा लुगा लगाउने अवस्थामा पुगेका छन् ।

जनताको मौलिक अधिकारभित्र रहेका स्वास्थ्य, शिक्षा र खानेपानीलाई सुलभ तुल्याउन राज्यले ध्यान दिएर जतिसक्दो चाँडो सबै पालिकामा दक्ष चिकित्सक सहित १५ शैयाको अस्पताल, आवासीय विद्यालय र सबै घरमा स्वच्छ खानेपानीको व्यवस्था गर्नपर्छ ।

सरकारले सामाजिक दायित्व पुरा गरी सूचना तथा सञ्चारबाट सुगम तुल्याउन हुम्लाका सबै गाउँमा वाइफाइ फ्री बनाउन आवश्यक छ । यसका लागि यथासिघ्र कालिकोट वा बाजुरा र मुगुबाट सिमकोट हुँदै हिल्सासम्म अप्टिकल फाइवर बिच्छ्यानु पर्दछ ।

विद्युतीय सुविधा पुर्याउन हिल्सासम्म प्रशारण लाइन विस्तार गर्नुका साथै हुम्ला कर्नालीको कासकाडे, तुम्कोट, कवाडी कर्नाली, लोती कर्नाली र हेप्का खोलाबाट उत्पादन हुने जलविद्युत आयोजनाहरु निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक छ ।

सबै बालवालिकालाई गुणस्तरीय शिक्षा र स्वास्थ्यमा लगानी, युवालाई रोजगारी र जेष्ठ नागरिकलाई सम्मान र सुरक्षाको व्यवस्था गर्नुपर्छ । हुम्ला हिमवत्खण्डको केन्द्र कैलाश, मानसरोवरको प्रवेशद्धार पनि हो ।

यसैले यहाँको लिमी उपत्यकाको लोलुङजोङ, हल्जी गुम्बा, हिल्सा, नारा लेक, रानीसैन, याल्बाङ गुम्बा, लेकधिगा, खार्पुनाथ, रल्लिङ, पञ्चमुखी हिमाल, भीउदूलो, देवी, दुधेदह, मारघोर लेक, छिन्ट्या ढुङ्गा, न्यारी चौर, तल्छरी झरना, ह्याप्स्या चौर, मेल्छामकोट, नेप्का, गोरख हिमाल, चंखेली लेक, मेथा, मदना खौला, रामाको भूमिगत दरवार लगायतको प्रचार प्रसार गर्न आवश्यक छ । यही प्रकारले स्थानीय इतिहासको सही सत्य तथ्य दिन लगाउनु पर्छ ।

विभिन्न सीमा समस्याको बाबजुद यस अभियानमा हुम्लाका ८६ प्रतिशत नेता कार्यकर्ता परिचालित भए । यस क्रममा १५२ जना अन्य पार्टीका नेता कार्यकर्ताले हाम्रो पार्टीमा प्रवेश गर्नुभयो । धेरै ठाउँमा जनसेवाका कामहरु गयौँ । यस अभियानले आगामी दिनमा यस्ता अभियान चलाउँदा भूगोल, मौसम र व्यवस्थापनमा ध्यान दिनुपर्ने बोध गरायो।

शहीद परिवार, घाइते, अपाङ्ग योद्धा र राजनैतिक इतिहास बोकेका नेता कार्यकर्ताको संरक्षण गर्नुपर्ने देखियो । अभियानले नेता कार्यकर्ताको पहिचान गराएको छ ।

हामी को कति कुन प्रकारलेरुपान्तरण भयौ ? यसबारे सांगठानिक पद्धतिले भन्ने कुरा हो । लोकले मूल्याङ्कन गरिरहेकै छन् । पैसा, पहुँच र दलबलमा प्रभावित भईरहेको अहिलेको सन्दर्भमा निश्चित सूचकका आधारमा सूचीकृत भएको कार्य सम्पादन अभिलेखका आधारमा मूल्याङ्कन गर्ने पद्धति बसाल्नु पर्दछ ।

जिल्लाबाट प्रदेशसम्म आइपुग्दा एक अवस्था देखिएको थियो। अहिले देशभरको अनुभव सुन्दा पार्टी किन खिइएको रहेछ भन्ने बोध भयो ।

यसैले अभियानको अन्तमा अध्यक्ष प्रचण्डले अभियानको सश्लेषण गर्दै भनेको सुन्यौ, पार्टी विघटन हुनबाट जोगियो ।

यो अवस्थामा हामी पुग्नुको कारण सच्याउँदै जनतामा आधारित पार्टी बनाउन आसन्न विधान सम्मेलन सफल पार्नुपर्छ ।
हाम्रो अध्ययन अनुसार जनताले नेताहरुको रुपान्तरण चाहेका छन् । नेता, कार्यकर्ताले क्रान्तिकारी पार्टी चाहेका छन् । सबैले भविश्य देख्ने वातावरण बनोस् ।

यसका लागि सही नेतृत्व र कार्यदिशाको आवश्यकता पर्दछ । विधिमा चल्ने पार्टी बनाउनु पर्दछ । समानता र स्वतन्त्रता एक सिक्काका दुई पाटा भएकाले सुशासन, सामाजिक न्याय र समृद्धिको मिसन बनाउनु पर्दछ । अध्यक्ष प्रचण्डको नेतृत्वमा समाजवादी क्रान्तिको लक्ष्य उत्कर्षमा पुर्याउन आवश्यक छ ।

(लेखक नेकपा (माओवादी केन्द्र) का हुम्ला जिल्ला संयोजक हुनुहुन्छ)