बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् ।
अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
लामिछानेले अहिले सेटिङ मिलाउन नसक्नेहरु मात्रै जेल गएको पनि बताए । ‘छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् यो देशमा म तपाईंलाई ग्यारेन्टीका साथ भन्न चाहन्छु’, उनलेभने ।
पुराना दलहरुबाट देश परिवर्तन होला भनेर वर्षौंदेखि कुरे पनि उनीहरु भागबन्डा र सेटिङमा लागेकाले जनताले विकल्प खोजेको लामिछानेले बताए ।
अब हुने चुनावमा रास्वपालाई वहुमत दिएमा देशलाई एक नम्बर बनाउने दावी गर्दै उनले बनाउन नसके राजनीति नगर्ने बताए ।
अहिलेको सरकार भ्रष्ट र बेथितिको चाङ बोकेको हुंदा पुरै कार्यकालसम्म बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेकाले जुनसुकै बेला हुने चुनावमा बहुमत पाउने गरी पार्टी अघि बढेको लामिछानेको भनाइ छ ।
‘हामी र्याल सिंगान चुहिन्जेल राजनीति गर्दैनौं, अब एक कार्यकाल एक्लै बहुमतका लागि जनतालाई अपिल गर्छौं, बहुमत पाएर पनि देशमा सुशासन र परिवर्तन दिन नसके राजनीति गर्दैनौं’, लामिछानेले भने, ‘दुई कार्यकाल मात्र राजनीति गर्ने हो ।’
गएको निर्वाचनमा आफू र आफ्नो दलविरुद्ध सत्ता गठबन्धन नै लागेपनि ५ महिनाको छोटो अवधिमै चौथो शक्ति भएको भन्दै लामिछानेले अबको चुनावमा पहिलो शक्ति बन्ने दोहोर्याए ।
अहिलेको सरकारले विभिन्न भ्रष्टाचार र अनियमितताका काण्डमा सुरूसुरूमा काम गरेजस्तो गर्ने तर टुंगो नलाग्दै राजनीतिक दबाबमा ढाकछोप गरेको उनको आरोप लगाए ।






























