काठमाडौं । ललितपुरको बालकुमारी प्रकरणमा परिवार र सरकारबीच ४ बुँदे सहमति भएको छ । मतृकका परिवार तथा आफन्त र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज गृह मन्त्रालयमा भेटघाट गरी यस्तो सहमति भएको हो ।
परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमति पनि भएको छ ।
अछामका वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमतिमा हस्ताक्षर गरेका छन् ।
गत शुक्रबार बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई युवकको मृत्यु भएको थियो ।
यस्तो छ चारबुँदे सहमति
१. मृतकका परिवारलाई, परिवारका सदस्यहरूसँगको सल्लाहमा ११ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने ।
२. सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने
३. मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने
४. मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने ।






























