काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको कार्यशैली बदल्ने घोषणा गरेका छन् । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन ।
प्रचण्ड नेतृत्वको सरकारको आज एक वर्ष पुरा भएको छ । सोही अवसरमा उनी देशबासीका नाममा सम्बोधन गरिरहेका छन् ।
‘म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
उनले सरकार असफल नभएको, तर आफ्नो हुटहुटीअनुसारको परिणाम नआएको स्वीकार गरेका छन् । उनले अब शीर्ष दलको बैठक सत्ताको वितरण गर्न नबस्ने प्रतिबद्धता समेत जनाएका छन् ।
































