फोटो सौजन्य : छक्क बहादुर शाही
हुम्ला । राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै हुम्लाको सर्केगाड व्यापारिक मार्ग बन्दै गएको छ । सर्केगाडको नयाँ नयाँ स्थानमा बजार विस्तार हुनेक्रम बढेसँगै व्यापारिक केन्द्र बन्दै गएको हो ।
हाल सलिसल्लामा बेलिब्रिजको काम सम्पन्न भएको छ । त्यस्तै कर्णाली करिडोर अन्तर्गत यातायात सुचारु पनि भइरहेका छन् । गतवर्ष यता हुम्लाकै व्यापारिक मार्गका रुपमा विकास हुँदै गएको स्थानिय व्यापारीहरुले बताउँदै आएका छन् ।
गाडीमोटर मात्रै पुगेका छैनन, सबै किसिमका उपभोग्य सामानहरु गाउँगाउँका बजार बजारमा पुगेका छन् । धमाधम विकास निर्माण भइरहेको सर्केगाडमा बजारीकरणको हब बन्दै गएको देख्न सकिन्छ ।
पहिले माटोले छोपेका घरहरु बनाइएका थिए भने अहिले जस्तापाता र सिमेन्टका घरहरु बनिरहेका छन् । यस्तो विकासले सर्केगाडको मुहार फेरिदो उन्मुख छ ।
सिमित व्यापारीमात्रै बसोबास गर्दै आएको सर्केगाडमा हाल बहुसंख्यक व्यापारीहरु छन् । त्यस्तै स्थानिय उत्पादन सहरसम्म र सहरको सुविधा गाउँगाउँसम्म पुगेको महसुस सर्केगाडका जनताले गर्न पाइरहेका छन् ।
सर्केगाडको नयाँ बजारमा हुम्ला, बाजुरा, मुगु लगायतका जिल्लाका व्यापारीले व्यवसाय गर्दै आएका छन् । हाल सर्केगाड खोला वारी नयाँ बजार विस्तार भएको छ । पहिले सुनसान रहेको क्षेत्रमा अहिले बजार व्यवस्थापन भएको स्थानीयको भनाइ छ ।

सर्केगाडमा यस्ता करिब पाँच सय व्यापारिक पसलहरु रहेका छन् । स्थानिय झपेन्द्र साउदका अनुसार सर्केगाड बजारकै कारण स्थानीयले घर अगाडिकै बजारमा सबै किसिमका सामानहरु पाइरहेको बताए । केही नियमन र नियन्त्रण गर्नुपर्ने भएतापनि सुविधा आगनमै पुगेको महसुस आफूहरुलाई भएको उनले बताए ।
‘यही रफ्तारमा सर्केगाड बजारीकर हुदै गए सुपथ मुल्यमा सबै किसिमका सामग्रीहरु किन्न पाइएला,’ उनले भने ।
हुम्लाको यस क्षेत्रलाई जिल्लाकै नमुना व्यापारिक र पर्यटकीय क्षेत्र बनाउन सकिने गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की मुक्तिले बताए ।
स्थानियका अनुसार पहिले पानीघट्ट माटाका घरहरू भएको यो ठाउँ अहिले बजारमा परिणत भएको छ।
हुम्ला जिल्लामा नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका रहेका छन् । सर्केगाड गाउँपालिकामा जैर, रिप, उनापानी, साँया, गोठी, बराँइ, रोडिकोट र राहादेव गरी आठ वटा वडा रहेका छन् ।
पालिकाको जनसंख्या १० हजार ६८८ रहेको छ । ३५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सर्केगाड व्यापारिक हबको रुपमा बजारीकरण हुँदै गएको छ ।































