देशभर चिसो बढ्यो, आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशभरका उच्च पहाडी क्षेत्रका हिमपात र वर्षा भएसँगै चिसो बढेको छ । पश्चिमी वायु र भारतको छत्तिसगढमा अवस्थित न्युनचापीय क्षेत्रको आंशिक प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार बिहान कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हिमाली जिल्ला हुम्लाको तापक्रम माइनस १४ डिग्री रहँदा काठमाडौंको तापक्रम १० डिग्रीमा झरेको छ ।