काठमाडौं । राजावादी समूहका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन् ।
गत शुक्रबार तिनकुनेमा भएको राजावादी जनआन्दोलनपछि प्रसाईं फरार भएका थिए।
सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रसाईंले भने ‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईंहरूभन्दा टाढा छैन । म भागेको छैन । पुलिस प्रशासनले मलाई खोज्न पर्दैन । मलाई भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले म सुरक्षित मात्र भएर बसेको हुँ । म भाग्नलाई जन्मेको होइन।”
उनले आफूले कहिले पनि त्यहाँ घर जला भनेर नभनेको पनि बताएका छन् । ‘बरु संसद् भवन कब्जा गरौँ मात्र भनेको हुँ । तोडफोड नगर भनेको छु । त्यस दिनको घटनाप्रति दुःख व्यक्त गर्छु,’ उनले भनेका छन् ।































