नेपाली फिल्म ‘दुखी आत्मा’ र ‘रंगी’ फ्राइडे रिलिज हुँदै

काठमाडौँ । शुक्रबारदेखि हलमा २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म ‘दुखी आत्मा’ र ‘रंगी’ प्रदर्शनमा आएका हुन् । फ्राइडे रिलिज अन्तर्गत दुवै फिल्म देशभर एकै साथ रिलिज भएका हुन् ।

‘दुखी आत्मा’ दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म हो भने ‘रंगी’का निर्देशक सुरेश न्यौपाने हुन् । अघिल्ला साता रिलिज भएका ‘ममी’, ‘एक्टरः टेक वान’ लगायतका फिल्मले अझै केही स्टेसनमा निरन्तरता पाएका छन् ।

दुखी आत्मा
दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेका छन् । ‘दुखी आत्मा’ यौन शिक्षाको विषयमा निर्माण भएको फिल्म हो । टिजर, ट्रेलर र ब्रेकअप कविता मार्फत चर्चित फिल्म निर्देशक लामाले नै लेखेका हुन् ।
फिल्ममा दयाहाङ र आँचलको अलवा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय छ ।

रंगी
सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘रंगी’ बाबु र छोरीको भावनात्मक कथामा निर्माण भएको हो । फिल्म अभिनेता सलोन बस्नेतले नै बनाएका हुन् ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । सुरेशको यो निर्देशनमा डेब्यु फिल्म हो । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनीश गौतम निर्माता रहेको फिल्ममा सलोन र नम्रताको अलवा मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।