महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भयो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा भएको ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले नै अगुवाइ गरेको बताए ।

‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरूको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ’, प्रधानमन्त्री ओलीले भने,

‘महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो । ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ ।’
हक अधिकारको उपभोग र अवसरमा समानता चाहिएको भन्दै उनले प्राप्त उपलब्धिहरू पर्याप्त नभएपनि स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि पुगेको प्रधानमन्त्रीको भनाइ छ ।

कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।