पुस १५ : कतै नयाँ वर्ष, कतै जीवनसाथी रोज्ने दिन

काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार तमु ल्होसार मनाउँदैछन्।
‘ ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ।

आज सोमबारे औंसी

सूर्य उत्तरायण शुरु हुनुअघिको औंसी अर्थात् पौष कृष्ण औंसीलाई नेपालीहरुले विशेष महत्वका साथ लिने गर्दछन् । यस दिन पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । ज्योतिषीय हिसाबले मंसिर पूर्णिमाको त्यति धेरै महत्व रहेको पाइँदैन तर सूर्य दक्षिणायनबाट उत्तरायणोन्मुख रहेकाले यही दिनदेखि दिन लामो र रात छोटो हुन्छ भन्ने तर्क छ ।

औंसीको दिन आज सोमबार परेकाले आज बिहानै उठेर नबोली नुहाउने र पूजाआजा गर्ने चलन समेत छ । यसो गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

मगरहरुको जीवनसाथी रोज्ने दिन

पुस १५ लाई मगर समुदायले जीवनसाथी रोज्ने पर्वको रूपमा मनाउने गरेको डा. गुरुङ बताउँछन् ।
उनका अनुसार तिहारमा देउसी खेलेर जम्मा भएको पैसामा अपुग भए अलिअलि थपथाप गरेर मगर युवायुवतीहरुले खुवा वा खोइ खाने चलन छ ।
यही समयमा खुवा खाएपछि आफ्नो जीवनसाथी रोज्ने र गार्हस्थ जीवनको सुरुवात गर्ने परम्परा रहेको संस्कृतिविद् गुरुङ बताउँछन् ।