नियामक निकायमा हुने राजनितिक भागबन्डाको क्रमभंगता गरौँ, सुरु धितोपत्र बोर्डबाट गरौँ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले नियामक निकायका पदमा राजनीतिक भागबन्डा र पैसाको खेलोबाट मुक्त गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद वाग्लेले पछिल्लो १० वर्षको अवधिमा पैसाको चलखेल र राजनीतिक भागबन्डाले नियामक निकायहरू बिग्रिएको बताए ।

उनले यसमा कुनै न कुनै बेला क्रमभंगता आवश्यक रहेको बताए । यसको सुरुवात नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटबाट गर्नुपर्ने उनको भनाइ छ ।

‘नियामकीय निकायहरू सेबोन, एनटीए, क्यानमा जुन ठूला–ठूला समस्या आइरहेका छन् । यसको यो मूल जरो महँगो र भ्रष्ट राजनीतिक प्रणालीमा ठूला–ठूला पदको किनबेच हुने, लेनदेन हुने, रेगुरेटरी निकायबाट पोलिसी करप्सन गर्ने र ठेक्काहरूबाट पैसा असुलेर हुने महँगो बोझिलो राजनीति हो, यसको कुनै न कुनै सयमा क्रम भंगता गर्नै पर्ने हुन्छ । यसको सुरुवात सेबोनबाटै गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

नियामक निकायलाई नीतिगत भ्रष्टाचारको अखडा नबनाउन काम गर्नुपर्ने उनको बताए । स्वार्थ बाझिने केही प्रावधानहरू हटाउने गरी ल्याइएको संशोधनमा सांसद वाग्लेले स्वागत गरेका छन् ।

पञ्चायतकालमा सार्वजनिक संस्थानका प्रबन्ध निर्देशकहरू गैरराजनीतिबाट ल्याउने प्रचलन चलाइएको पनि उनले स्मरण गराए ।”

विगत १० वर्षको महत्त्वपूर्ण निकायको नियुक्तिमा भएको चलखेल र सेटिङले सरकार नै ढल्नेसम्मका गतिविधि भएको भन्दै सांसद वाग्लेले यसतर्फ सबैले विचार गर्नुपर्ने बताए ।