नयाँ फिल्म ‘दान्भी’ भन्दा ‘गाउँ आएको बाटो’ लाई धेरै शो !

काठमाडौं । जेठ २५ गते रिलिज भएको फिल्म ‘गाउँ आएको बाटो’ तेस्रो सातामा प्रदर्शनरत छ। ‘दान्भी’ भने गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो।

प्रदर्शनको पहिलो दिनका लागि दुवै फिल्मले पाएको शोमा धेरै अन्तर थिएन। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘गाउँ आएको बाटो’ लाई भन्दा ‘दान्भी’ लाई धेरै शो दिएको थियो।
गाउँ आएको बाटोलाई क्युएफएक्सले काठमाडौंमा १४ र बाहिर २६ शो उपलब्ध गराएको थियो।
दान्भीलाई क्युएफएक्सले काठमाडौंमा १६ र बाहिर ३१ शो दिएको थियो।
यतिबेला भने पहिलो सातामा प्रदर्शनरत ‘दान्भी’ भन्दा तेस्रो सातामा चलिरहेको ‘गाउँ आएको बाटो’ ले धेरै शो पाएको छ।

बुधबारका लागि गाउँ आएको बाटोलाई क्युएफएक्सले काठमाडौंमा ८ शो दिँदा दान्भीलाई ६ शो मात्र दिएको छ। उत्साहजनक शो पाए पनि राम्रो व्यापार गर्न नसक्दा हलले शो घटाएका हुन् ।
दान्भी’ मा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन्।
रूपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ।

नवीन सुब्बाको निर्देशनमा बनेको ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्।