जनकपुरधाम । सर्लाहीको बरहथवामा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका यूवा व्यवसायी जयशंकर साहको आफन्त र स्थानीयले आन्दोलन नरोकेपछि अवस्था फेरि तनावग्रस्त बनेको छ ।
आज बिहानैदेखि मृतकका आफन्त र स्थानीय सडकमा टायर बालेर आन्दोलन झनै चर्काएका छन् । ड्रमले बनाएको ब्यारिकेटहरू प्रदर्शनकारीले हटाउन लाग्दा प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले प्रदर्शनकारी तितर बितर भएका छन् ।
बजार र यातायात बिहानैदेखि बन्द छ । पीडित परिवारलाई प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले वार्ताका लागि बोलाएका छन् । अहिले वार्ता चलिरहेको छ ।
प्रशासनले भने बरहथवा क्षेत्रमा भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यूको समय थपेको छ ।
‘बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा नीजि सम्पति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदंगा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भंग हुन सक्ने अवस्था देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको छ,’ प्रजिअ धमलाद्वारा जारी आदेशमा भनिएको छ ।
































