सर्केगाडमा गठबन्धन गर्न कांग्रेस-एमालेबीच रस्साकस्सी

सर्केगाड । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको उपनिर्वाचनमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन गर्न रस्साकस्सी नै चनेको छ । बुधबार कांग्रेसका सहमहामन्त्री जीवन परियार र एमालेका नेता गोरखबहादुर बोगटीसहित स्थानीय नेताहरूले गठबन्धन गर्नेबारे छलफल गरेका हुन ।

यसअघि सर्केगाडमा एक्लाएक्लै चुनाव लड्ने भनेर कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रबाट देवकी तिमल्सेना उमेदवार छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट बाँचा बुढा र नरेश शाही स्वतन्त्र उमेदवार छन् ।

गठबन्धनको प्रयास भएपनि अहिलेसम्म टुंगो नलागेको एमाले नेता दल रावलले बताए । “कांग्रेससँग गठबन्धन गर्नेबारे छलफल भइरहेको छ । अहिले पनि छलफलमै छौँ । अहिलेसम्म कुनै निर्णय चाँही हुन सकेको छैन,” उनले भने ।

कांग्रेसका स्थानीय नेता मानदेव शाहीले अहिले सर्केगाडमा माओवादी केन्द्रसँग भिड्नको लागि गठबन्धन आवश्यक रहेको बताए ।

एमालेका नेता खगेन्द्र कार्कीले चुनाव हुन अझै केही दिन बाँकी रहेकाले चुनावी तालमेल हुनसक्ने बताए । उनले एमालेलाई उपाध्यक्ष दिएमा गठबन्धन हुनसक्ने बताए ।

यसअघि अध्यक्षमा कांग्रेसका ठानबहादुर रोकायाले ३ हजार ५ सय ४३ मत प्राप्त गरी विजयी हुँदा एमालेका ज्ञामी बुमीले ९ सय ९७ मत पाएकी थिए ।

आठ वडामध्ये माओवादी तीन, कांग्रेस दुई, एमाले दुई र एक वडा स्वतन्त्रले जितेका थिए ।

२०७४ को निर्वाचनमा सर्केगाडमा एमाले–माओवादी गठबन्धन भएको थियो, जसमा एमालेले अध्यक्षमा माओवादीलाई र माओवादीले उपाध्यक्षमा एमालेलाई सघाएको थियो ।

त्यसबेला १ हजार ९ सय २० मतका साथ माओवादीका कृष्ण रोकाय विजयी हुँदा कांग्रेसका मंगलबहादुर शाही पराजित भएका थिए । शाहीले १ हजार ७ सय ७५ मत प्राप्त गरेका थिए ।