काठमाडौं । सहकारी बचत अपचलन प्रकरणमा सभापति रवि लामिछाने पनि सम्भावित गिरफ्तारीको खबरले पार्टीभित्र हलचल मच्चिएको छ।
पक्राउको आशंकासँगै रास्वपाले आन्तरिक छलफल तीव्र बनाउँदै कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको हो । यसअघि गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् ।
सहकारी छानबिन विशेष संसदीय समितिले जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र रवि लामिछानेले समेत हस्ताक्षर गरेर खर्च गरेको ठहर गरेको थियो।
उक्त ठहरपछि समितिले कानूनी कारबाहीको सिफारिस गरेको थियो। सरकारको निर्देशन आएलगत्तै प्रहरीले छविलाललाई आज साँझ पक्राउ गरेको हो।
यसैबीच, लामिछाने पनि सम्भावित पक्राउको तयारीमा छन्। कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी टोली खटाइसकिएको छ भने प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई सम्भावित गिरफ्तारीबारे सूचित गरिएको छ। हाल उनी बनस्थलीस्थित पार्टी कार्यालयमा नेताहरूसँग आन्तरिक छलफलमा रहेका छन्।
रास्वपाले लामिछानेको गिरफ्तारीको हल्लापछि आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा भेला बोलाएको छ।
सहकारी ठगी प्रकरणमा संसदीय समितिको सिफारिसअनुसार कारबाही हुन सक्ने आशंका गर्दै पार्टीले आन्तरिक रणनीति बनाउन सुरु गरेको बताइएको छ ।
पार्टी कार्यालय अगाडि कार्यकर्ता र लामिछानेकाका शुभचिन्तकहरूको बाक्लो उपस्थित रहेको छ।































