राम्रो टिम बनेपछि नेतृत्व छोड्छु : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी प्रचण्डले यस्तो बताएका हुन ।

सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै अहिले नै नेतृत्व हस्तान्तरण उपयुक्त नहुने बताए । ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचमा छु ,’ उनले भने ।

अध्यक्षभन्दा माथि प्रचण्ड भइसकेको भन्दै पार्टीको अध्यक्षमै रहिरहने सोचमा नरहेको पनि बताए । ‘अध्यक्ष भन्ने पद मेरालागि त्यति ठूलो छैन् । संसारले नै प्रचण्डलाई ठूलो परिवर्तनको संवाहकका रूपमा स्वीकारेको अवस्थामा मलाई अध्यक्ष हुनैपर्छ भन्ने नै छैन,’ उनले भने ।

उनले पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताए । ‘नेतृत्वको बारेमा जहिले पनि छलफल भइराख्छ । तर अहिले नै नेतृत्व हस्तान्तरणको कुरा त्यति उपयुक्त छैन,’ उनले भने ।

उपमहासचिव जनार्दन शर्माले ल्याएको प्रतिवेदनमा पनि अहिले नै अध्यक्ष छोडेर अर्को अध्यक्ष बनाउने नभनेको उनले बताए । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याइएको जिकिर गरे । पार्टीभित्र कुनै आन्तरिक विवाद नरहेको र भएका विवाद पनि समाधान भएको उनको दाबी छ ।

एक फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एमाले सांसद्हरुले सदनमै जनयुद्धलाई ‘हिंसा’ शब्द प्रयोग गर्नु जायज नभएको बताए । संविधानले विस्तृत शान्ति सम्झौतालाई नै संविधानकै अङ्ग बनाएकाले एमाले सांसदहरूले त्यसरी बोल्न नहुने उनले बताए ।

‘संविधानमै सशस्त्र युद्धको कुरा, जनयुद्धको कुरालाई, व्याख्यात्मक टिप्पणीमा ‘माओवादी जनयुद्ध’ भनेरै शब्द प्रयोग गरिएको छ । त्यसमा सबैको सहमति हो,’ अध्यक्ष प्रचण्डले भने, ‘एक समय जसले हिंसा भनेर शब्द प्रयोग गर्नुभयो उहाँले त जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो ।’ उनले माओवादी केन्द्रको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्दा राम्रो हुने बताए ।

भ्रष्टाचारलाई संरक्षण गर्नका लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको दाबी गर्दै उनले गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी समेत दिए । ‘गलत गरे छोड्दैनौँ, यो विद्रोहको भाषा होइन’, उनले भने, ‘सदन र सडक दुवै ठाउँमा प्रतिकार गर्छौं ।’