सुर्खेत । नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुने चार मन्त्रीको नाम बुझाएको छ । कांग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर विष्टले मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीको नाम दिएका हुन् ।
प्रमुख सचेतक विष्टका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम पठाइएको छ ।
केन्द्रमा कांग्रेस–एमाले गठबन्धन बनेपछि कर्णालीमा कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
आठ सदस्यीय प्रदेश मन्त्रीपरिषदमा एमालेबाट एक मुख्यमन्त्री तथा दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् ।
































