‘गोल्ड मेडलिष्ट’ उपसचिव प्रमोद भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

नेपाल दोषी ठहर भएसँगै विशेष अदालतले एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको अदालतले जनाएको छ ।

यही प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौंबाट नेपाल र श्रेष्ठलाई पक्राउ गरेको थियो ।

अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित अख्तियारले उपसचिवलाई पक्राउ गरेको थियो ।

उनी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ थिए । उनलाई सवैले गोल्ड मेडलिष्ट सचिवको रुपमा चिन्दै आएका थिए।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए ।