नेपाल-भारत संयुक्त आयोगको सातौं बैठक सुरू

काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको सातौं बैठक सुरू भएको छ। बिहीबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बैठक सुरु भएको हो ।

सो बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरिरहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत, व्यापार, आपसी सीमा समस्या, हवाई रूटलगायत विषयमा छलफल हुनेछ ।

बैठक सुरू हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो।

सिंहदरबारमा उर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका उर्जासचिव गोपाल सिग्देल र भारतका उर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए।

नेपाल र भारतबीच भारतले नेपाललाई दिंदै आएको सहयोग रकम बढाउने सम्झौतामा पनि हस्ताक्षर हुँदैछ।

बैठक लगत्तै दुई देशका परराष्ट्रमन्त्रीहरूले १३२ केभीएका तीनवटा प्रशारण लाइनको संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उनीहरूले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल परवानीपुर प्रशारण लाइन, कुशाहा(कटैया प्रशारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा(मैनाहिया प्रशारण लाइनको संयुक्त उद्घाटन गर्न लागेका हुन्।