सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेत । सुर्खेत जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोट शुभकालिका गाउँपालिका ३ का ४० वर्षीय तन्त बिक, सोही ठाउँका १७ वर्षीय वीरेन्द्र बिक, २७ वर्षीय नवराज बि।क। र दैलेख भैरबी गाउँपालिका ४ का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

जीपमा ६ जना सवार रहेकोमा दुई जना गम्भीर घाइते छन् । कालीकोटका नरी विक र नरेन्द्र विष्ट घाइते भए हुन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।