हुम्ला । नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सचिव नवीन शाहीले हुम्लामा एक सुत्केरीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पुर्याएका छन् ।
नवीनले आर्थिक अवस्था कमजोर भएकी २५ वर्षीया जौका खडकाको उद्धार गरी नेपालगञ्ज नर्सिङ अस्पतालमा उपचारका लागि पुर्याएका हुन ।
सुत्केरी महिलाको घर ताजाँकोट गाउँपालिका वडा नम्बर १ मा हो । नवीनको नेपालगञ्ज आउने काम भएको र सोही क्रममा बाटोमा ती सुत्केरीलाई जोखिमपूर्ण अवस्थामा भेटाएका थिए ।
उनले रिजर्भ गरेको गाडीमा आमा, बच्चा र उनका श्रीमानलाई चढाए । त्यसपछि बाजुराको कोल्टी विमानस्थलबाट जहाजमा नेपालगञ्ज पुगेको शाहीले बताए ।
‘हाल सुत्केरी र बच्चा नेपालगञ्ज अस्पतालमा उपचाररत छन् । भोलि डिस्चार्ज हुँदैछ । त्यसपछि मात्रै खर्चको एकीन विवरण आउँछ,’ उनले कर्णाली बुलेटिनसँग फोनमा भने ।
सुत्केरी बेथा लागेकी जौकालाई पालिकाको ०१ नम्बर वडाको गाउँपालिका केन्द्र छपेला लैजाने क्रममा बाटामै बच्चा जन्माएकी थिइन । अत्याधिक बिलिडिङ हुँदा सो स्वास्थ्यचौकीबाट कोल्टी रेफर गरिएको थियो ।
श्रीमान मानबहादुर खडकाका अनुसार शाही विशेष कामले नेपालगञ्ज जाँदै गर्दा बाटोमा भटाएको बताए । ‘उहाँ काम विशेषले आउनुभएको रहेछ । उहाँले नै गाडी रिजर्भ गरेर कोल्टी र त्यसपछि जहाजमा नेपालगञ्ज पुर्याउनुभयो,’ उनले भने, ‘अहिले श्रीमती र बच्चाको अवस्था सामान्य छ ।’































