हुम्ला । हुम्लाको सलिसल्लामा बेलिब्रिज तयार भएसँगै गाडि गुड्न थालेका छन् । सर्केगाड र चंखेली गाउँपालिकाकोक सिमानामा पर्ने बेलिब्रिजको काम सम्पन्न भएसँगै दुई पालिका यातायातमा जोडिएका हुन ।
हिल्सा सिमकोट सडक योजनाका निमित्त प्रमुख बेल बहादुर नेपालीका अनुसार पुलको काम सम्पन्न भएको छ । उनका अनुसार ६ गते बेलिब्रिजको उद्धघाटन हुँदैछ ।
‘६ गते बेलिब्रिजको उद्ध्घाटन हुँदैछ । यसअघि नै धमाधम गाडि गुड्न भने थालिसकेका छन् । कर्णाली करिडोर अन्तर्गत जिते, कवाडी, श्रीनगर, बालुकुना हुँदै आउने गाडिहरु सजिलैसँग सर्केगाडसम्म पुगिरहेका छन्,’ नेपालीले भने ।
पुलको लम्बाई ४८ मिटर रहेको छ ।
सर्केगाडसम्मै गाडि पुग्दा स्थानिय जनता पैदलमार्गबाट मोटरमार्गमा जोडिएका छन् । यसले आउजाउ र व्यापार व्यवसायलाई बढाउँदै गएको छ ।
यातायातका नाममा अत्याधिक मात्रामा भाडा असुली गर्दा स्थानिय यात्रु मर्कामा परेका छन् । भौगोलिक विकटताका कारण यस्तो भएपनि अब सहज हुने अपेक्षा स्थानियको छ ।
बेलिब्रिज उद्धघाटनका लागि भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री जिवन बहादुर शाही र सडक विभागका कर्मचारीहरु पुग्ने पनि नेपालीले बताए ।
प्रदेश राजधानी सुर्खेतबाट टोली हेलिकप्टरमा जानेछन ।































