काठमाडौं । उच्च अदालत पाटनले एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीश पुरूषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएको शेयर दर्ता किताबमा दर्ता नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयलाई यस्तो आदेश दिदै संसदको लेखा समितिले सरकारलाई किन्न अनुरोध गरेको, प्रधानमन्त्रीले अध्ययन गर्न निर्देशन दिएको र प्राधिकरणले बिक्री गर्नुपूर्व स्वीकृति लिन पत्राचार गरेको देखिएकाले एनसेलको सेयर खरिद बिक्री २५ गतेसम्म दर्ता नगर्न नगराउन आदेश दिएको अदालतले जनाएको छ ।
यो आदेशलाई निरन्तरता दिने कि नदिने सम्बन्धमा २५ गते दुवै पक्षको बहस हुने आदेशमा उल्लेख छ । दुवै पक्षको बहस सुनेपछि एनसेलको खरिद बिक्री रोक्ने कि नरोक्ने भनेर अदालतले अर्को आदेश गर्नेछ ।
गत शुक्रबार मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर ९६ अर्ब ६६ करोड रूपैयाँमा बिक्री गरेको बताएको थियो ।
































