कर्णाली यशविस र ललितपुर उपाधिका लागि भिड्दै

काठमाडौँ । एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस र ललितपुर क्विन्स भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शुक्रबार राति भएको खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा पराजित गरेसंगै फाइनलमा पुगेका हुन् ।

लिग चरणको अन्तिम खेलको पहिलो सेट काठमाडौंले २५–२३ ले जितेको थियो। तर, दोस्रो सेटमा भने काठमाडौं प्रभावकारी देखिएन। उक्त सेट कर्णालीले १४–२५ ले आफ्नो बनायो।

तेस्रो सेट पहिलो झैं प्रतिस्पर्धात्मक भएको थियो। तर, उक्त सेट कर्णालीले २३–२५ ले आफ्नो बनायो। चौथो सेटमा पनि काठमाडौंले कर्णालीलाई चुनौती दिन सकेन र खेल १२–२५ ले गुमाउँदै लिग चरणबाटै बाहिरियो।