‘प्रचण्डकै नेतृत्वमा फेरि माओवादी बन्छ’

काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सांसद महेन्द्रबहादुर शाहीले जनयुद्धमा लडेका कार्यकर्ता हराएकोबारे पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

हुम्ला–काठमाडौं सम्पर्क मञ्चले केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रममा हराएका ती कार्यकर्ताबारे खोजी गर्नुपर्ने बताएका हुन् ।

‘हाम्रो पार्टीमा यतिबेला गम्भीर समीक्षा जरुरी छ । हिजो लडेका, भिडेका कार्यकर्ताहरू आज कता छन् के गर्दैछन् ? यसको खोजीनीति गरौँ । हामीले किन कार्यकर्ता संरक्षण गर्न नसकेको ? हिजो हुम्लाबाट एकैपटक ६ सय, ८ सय र १२ सयको सङ्ख्यामा मैले नै सेनामा भर्ती गरेको हो । आज त्यो युवा कता छन् रु हामी सबैले तत् तत् ठाउँमा जिम्मा लिएका नेताहरूले गर्न सकेनौँ । कार्यकर्ता फिल्डमा छैनन् । त्यसकारणले पार्टी कमजोर भयो’, उनले भने ।

कार्यक्रममा प्रचण्डकै नेतृत्वमा फेरी माओवादी बन्ने बताए । शाहीले माओवादीबाट फुटेर गएकाले पनि केही गर्न नसकेकाले माओवादीको विकल्प नभएकाले पार्टी बनाउनुपर्ने बताए ।

‘यो पार्टी बन्छ । कमरेड प्रचण्डकै नेतृत्वमा पार्टी बन्छ । योबाहेक अर्को विकल्प छैन’, प्रचण्डकै अगाडि उनले भने, ‘यो पार्टी विल्कुल फुट्दैन । पार्टी फुटेर गएकाले भोगिसके । अर्को माओवादी पार्टी बन्न सक्दैन ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक मेहनत गरेमा ०८४ मा असाधारण ढङ्गले रिभाइभ हुने बताएका थिए ।