पटक-पटक चुनाव हारेका यज्ञराज बने कर्णालीको प्रदेश प्रमुख

सुर्खेत । सरकारले कर्णाली प्रदेशको प्रमुखमा यज्ञराज जोशीलाई सिफारिस गरेको छ । कर्णाली प्रदेश प्रमुखमा लुम्बिनीका तिलक परियारलाई हटाएर सुदूरपश्चिम कञ्चनपुरका यज्ञराज जोशीलाई सिफारिस गरेको हो ।

जोशी कर्णाली प्रदेशको चौथो प्रदेश प्रमुख हुनेछन् । २००६ साल चैत २५ गते बझाङको भातेखोलामा जन्मिएका जोशी ३० को दशकदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

०४८ सालदेखि ९आठौँ महाधिवेशनबाट महासमिति सदस्य भएका उनी ०६३ सालमा कांग्रेसको कञ्चनपुर जिल्ला सभापति भएका थिए ।

०४९ सालमा कांग्रेसका तर्फबाट महेन्द्रनगर नगरपालिका हाल भीमदत्त नगरपालिकाको पहिलो मेयर भएका उनी ०५४ सालमा मेयरका लागि उम्मेदवार बने पनि पराजित भए ।

०६५ सालको उपनिर्वाचनमा पनि उनी पराजित हुन पुगे । उनी संसदीय चुनाव लडेको यो पहिलो पटक थियो ।०७० मा दोस्रो संविधान सभा चुनावमा पनि जोशी उम्मेदवार हुन चाहेका थिए ।

तर त्यो बेला टिकट पाएनन् । यस्तै ०७४ मा कञ्चनपुर ३ ९क० बाट उनी प्रदेश सभा उम्मेदवार बनेका थिए । नेकपा एमालेका प्रकाश रावलसँग उनी पराजित भए ।

०७९ मा पनि उनी उम्मेवार बन्ने आकाङ्क्षी थिए । पछि देउवाकै आग्रहमा पछि हटे । ०५९ सालमा देउवाले कांग्रेस फुटाउँदा भने उनी मूल कांग्रेसमै रहेर जिल्लामा राजनीति गरे । पछि दुई कांग्रेसबिच एकीकरण हुँदा भने आफू शेरबहादुर देउवासँगै रहेको छन् ।

एकीकरण हुँदा उनले प्रजातान्त्रिक कांग्रेसका बहादुरसिंह थापालाई सभापतिका लागि मार्ग प्रशस्त गरिदिएका थिए ।जोशी अहिले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, कटानमा बस्छन् । यस्तै उनको वडा नम्बर ५ मा पनि घर छ ।

०३२ सालमै उनको परिवार कञ्चनपुरमा बसाइँ सरेको थियो । त्यहाँ आएदेखिनै आफूले कांग्रेसको राजनीतिमा लागेको उनको भनाइ छ ।