एसइईमा ‘नन ग्रेड’ ल्याएका विद्यार्थीहरूलाई मौका परीक्षा दिन पाउने

काठमाडौं । एसइईको नतिजामा दुईभन्दा बढी विषयमा ‘नन ग्रेड’ ल्याएका विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने भएका छन्।
शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले उक्त निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए १.६० देखि २ ल्याउनेमा ६ जना विद्यार्थी छन्। यस्तै, २ देखि २.४० ल्याउनेमा २ हजार ९५०, २.४० देखि २.८० ल्याउनेमा ४१ हजार १७७, २.८० देखि ३.२० ल्याउनेमा ७८ हजार ८७४ जना विद्यार्थी छन्।

यस्तै ६८ हजार २५६ जनाको ३.२० देखि ३.६० र ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३१ हजार २०९ रहेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडिङमा परेका छन्।
मन्त्रालयका अनुसार उक्त परीक्षा साउनमा हुनेछ।