राजतन्त्रका दलालहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी प्रहार गरे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुश राजतन्त्रका दलालहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी प्रहार भएको भन्दै लाखौँ जनता सडकमा उतार्ने बताएका छन् ।
आइतबार हेटौंडामा समाजवादी केन्द्रले आयोजना गरेको सन्देश सभामा यस्तो बताएका हुन ।

‘हामी कमजोर देखिएपछि कसरी प्रतिक्रान्तिकारीहरुको मनोबल उठ्दो रहेछ । एकदुई जना भएपनि अस्ति काठमाडौंमा देखिहाल्नुभयो । निरंकुश राजतन्त्रका दलाल भ्रष्टहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्ने समान्य घटना होइन,’ उनले भने ।

साथै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यस्ता घटनाबारे सचेत हुनुपर्ने समेत बताएका छन् । आफूहरुलाई अपमानित गर्न खोज्ने, घेरा हाल्न खोजेको प्रधानमन्त्री दाहालको ठहर छ । जनताको त्याग र संघर्षबाट ल्याएको परिवर्तनलाई अपमानित गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।