काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएका दिपेश पुनले धरौटी नबुझाएपछि थुनामै बस्नुपरेको छ ।
शुक्रबार रुपन्देही जिल्ला अदालतले दिपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार धरौटी नबुझाएपछि उनी थुनामा गएका हुन् ।
त्यसैगरी अहिलेसम्म धरौटी नबुझाएका कारण नवीन अछामी पनि थुनामा गएका छन् ।
सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकील कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकोमा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए ।
बचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब १ अर्ब रुपैयाँ अपचलन गरेको छ ।
उनीहरूमध्ये गुरुङलाई थुनामा पठाउने र अरू ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो ।
त्यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको थियो । पुन र अछामी बाहेक अरू भने धरौटी बुझाएर रिहा भएका छन् ।
































