रुकुम पश्चिम । प्रहरीले रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानलाई कुटपिट गर्ने चार जना पक्राउ गरेको छ । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने चार जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा बाँफिकोट–४ का २८ वर्षीय लक्षमण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, बाँफिकोट–५ का २२ वर्षीय कैलास पुरी र वडा नम्बर–६ का एक जना बालक रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका थिए ।
प्रहरी जवानसँग बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसी र बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोबिन्द विक लगायतसँग सामान्य विवाद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले घटनास्थलमा पुगेर सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको बताए ।
उनका अनुसार प्रहरी जवानमाथि हातपात गर्दै ढुङ्गा समेत प्रहार गरेको बताए ।
आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । प्रहरीका अनुसार घाइतेको उपचार नेपालगञ्जमा भइरहेको छ ।
































