उपत्यकाको पान कन्क्लेभ २०८२ सम्पन्न

काठमाडौं । प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल पानले देशका विभिन्न जिल्लाहरुमा पान एजुकेशन कन्क्लेभ २०८२ सम्पन्न गरेको छ ।
“समतामूलक र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयको सशक्तिकरण” भन्ने मुल नाराका साथ गत शनिबार ललितपुर गोदावरी नगरपालिका -१४ बाँडेगाउँ स्थित वुद्ध माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाहरुका सामुदायिक विद्यालयहरुका शिक्षा क्षेत्रका सवालमा चुनौती, अवसर र उत्कृष्ट अभ्यास पहिचान तथा सरोकारवालाबीच सहकार्य प्रवर्द्धन तथा यसका लागि उपायहरु तथा आगामी दिनका लागि सिफारिस सहितका सवालका विषयमा पानका बागमती प्रदेश पानका अध्यक्ष चन्द्रप्रसाद मैनालीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गुणस्तरीय शिक्षाका लागि साझेदारी भूमिका र जिम्मेवारी विषयमा भएको प्यानल डिस्कसनमा बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी, भक्तपुर शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कमला ज्ञवाली, गोदावरी नगर प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेश बज्राचार्य र विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आ–आफ्ना धारणा राखेका थिए।
सो सत्रको सञ्चालन पानका केन्द्रीय सहकोषाध्यक्ष हिमाल केसीले गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता सुदाम प्रसाद गौतमले गर्नुभयो भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्ण प्रसाद काप्री प्रमुख अतिथि रहनुभएको थियो।

पानका महासचिव लक्ष्मण श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ विद्यालय निरीक्षक पदम बहादुर कुँवर, वडा अध्यक्ष निरोज बज्राचार्य, पानका उपाध्यक्ष टिकाराम पाण्डे, उपमहासचिव मीन अछामी, सचिव मन्जु बस्नेत, सचिव बेगबहादुर थापा, काठमाडौंका सचिव हरिकृष्ण श्रेष्ठ, भक्तपुरका अध्यक्ष महेन्द्र श्रेष्ठसहित विभिन्न विद्यालयका शिक्षक–प्रधानाध्यापक, अभिभावक, विद्यार्थी तथा शिक्षा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

संस्थाले सामुदायिक विद्यालयलाई सबल बनाउँदै शिक्षा प्रणालीलाई गुणस्तरीय रूपान्तरण गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्ने स्पष्ट गर्दै कन्क्लेभमार्फत ७७ जिल्लाबाट संकलित सल्लाह–सुझाव र सातै प्रदेशमा भएका छलफललाई सम्बद्ध निकायलाई उपलब्ध गराइने पानले जनाएको छ।