हुम्ला, २९ असार । केही दिनअघि रसुवागढी नाकामा आएको बाढीले पुल भत्किएपछि कैलाश मानसरोवर जाने हिन्दू तीर्थयात्रीहरूको मार्ग परिवर्तन भई हाल हिल्सा नाकाको प्रयोग बढेको छ।
विशेषगरी भारतीय हिन्दू तीर्थयात्रीहरू मानसरोवर तथा कैलाश पर्वतको दर्शनका लागि हिल्सा हुँदै गइरहेका छन्।
रसुवाको विकल्पमा हिल्सा प्रयोग गर्न थालेपछि हुम्लाको हवाई यातायातदेखि होटल व्यवसायमा उल्लेखनीय चहलपहल देखिएको छ।
नेपालगञ्जदेखि सिमकोटसम्म दैनिक झण्डै ३० ओटा उडानहरू भइरहेको सिमकोट विमानस्थल स्रोतले जनाएको छ। उडान संख्याको वृद्धिसँगै पर्यटकहरू सिमकोट, हिल्सा र त्यस वरपरका क्षेत्रमा बसी यात्रा गर्दैछन्।
यात्रु संख्या बढेसँगै सिमकोट लगायतका स्थानका होटल तथा गेष्ट हाउसहरू भरिन थालेका छन्। पर्यटनको यो चहलपहलले स्थानीय होटल, यातायात र अन्य सेवा क्षेत्रमा व्यवसाय फस्टाउँदै गएको छ।
स्थानीय व्यवसायीहरू भन्छन्, “धेरै समयपछि यस्तो पर्यटकीय भीडभाड देखिएको छ, हामीलाई राम्रो आम्दानीको मौका भएको छ।”
यसैगरी, स्थानीय प्रशासनले पनि पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै व्यवस्थापन तथा सहजीकरणका कामहरू अघि बढाइरहेको जनाएको छ।
कैलाश मानसरोवरको तीर्थयात्रा विशेषतः असार,साउन र भदौमा हुने हुँदा आगामी केही समय हुम्लामा अझै पर्यटकको चहलपहल बढ्ने अनुमान गरिएको छ।
यसले हुम्लाको पर्यटन तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
प्रस्तुतकर्ता: कर्णाली बुलेटिन संवाददाता