हुम्ला । सर्केगाड गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा गाउँपालिकामा कार्यरत अधिकांश कर्मचारी आषाढ मसान्तको आर्थिक वर्ष अझै नटुंगिँदै गाउँपालिका छाडेर फरार भएका छन्।
स्थानीय सरकारले आषाढ २५ सम्म काम गर्नुपर्ने भए तापनि, कार्य सम्पादन सकिएको भन्दै पालिका प्रमुखहरू र शाखा प्रमुखहरूसहितका कर्मचारीहरू समयभन्दा अघि नै गाउँपालिका छोडेर गएका हुन्।
गाउँपालिकामा अहिले एक जना पनि अधिकृत तहका कर्मचारी बाँकी नरहेको स्थानीयवासीहरूको गुनासो छ।
विभिन्न सेव प्रवाह तथा आम जनताको प्रशासनिक कामकाज ठप्प भएको छ। कार्यालयमा सेवा लिन जाने सर्वसाधारण खाली कुर्सी र बन्द ढोका देखेर फर्कन बाध्य भएका छन्।
यता, स्रोतका अनुसार, केही कर्मचारीहरूले “अषाढ २५ सम्म कुर्नुभन्दा पहिले काम सकिएको” भन्दै छुट्टीमा गएका जनाएका छन्।
तर, गाउँपालिकाको सम्पूर्ण सेवा ठप्प हुनु र प्रमुख प्रशासकीय अधिकृतदेखि शाखा प्रमुखसम्म अनुपस्थित हुनु गम्भीर विषय भएको स्थानीय राजनीतिकर्मीहरू बताउँछन्।
यस घटनाले प्रशासनिक लापरवाही, उत्तरदायित्वहीनता र सेवाग्राहीप्रतिको बेवास्तालाई उजागर गरेको छ।
जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायले यस विषयमा छानबिन गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग स्थानीयबासीहरूको रहेको छ।