काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग दशैं अगाडि नखुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग दसैँ अगाडि सञ्चालनमा नआउने जानकारी दिएका हुन् ।
उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दसैँ अगाडि बीपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गरे । यद्यपि, खुलाउने प्रयास भने जारी राख्ने बताए ।
“बीपी राजमार्गको अवस्था देख्दाखेरी दसैँ अगाडि खुल्ने सम्भावना छैन । हामी त्यो निष्कर्षमा पुग्यौँ । काम निरन्तर गर्छौँ किनभने त्यहाँ गाडीहरू फसेका छन् । स्टाफहरू गाडी कुरेर बस्नुभएको छ भनेपछि सकेसम्म हामी प्रयास गर्दै दसैँ अगाडि अड्किएका गाडीहरू ल्याउने प्रयास गर्छौँ । त्यो उद्धार मात्रै हुन्छ । सार्वजनिक गाडी छोड्नेगरी नै गर्न सकिने अवस्था हामी देख्दैनौँ । धेरै ठाउँमा बिग्रिएको छ,” उनले भने ।
असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी मन्त्रालयले दिएको छ ।
































